लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरू

मंसिर ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरू

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरू भएको छ । 

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा चिनिन्छ । विधेयक अधिवेशन भनिए पनि सोमबार बसेको पहिलो बैठकमा सरकारले कुनै पनि विधेयक पेस गरेन । बैठक ४० मिनेटसम्म चलेको थियो । त्यसपछि सभामुख तुलाराम घर्तीमगरले सभा स्थगित भएको जानकारी गराउनुभयो । 

यसअघि प्रदेश सरकारले तीनवटा विधेयक सभामा लैजाने निर्णय गरेको थियो । तर प्रदेशसभा सदस्यहरू दलीय काममै व्यस्त हुनु परेकाले पहिलो बैठकमा कुनै पनि विधेयक पेस नभएका हुन् । बैठकका प्रदेशसभा सदस्यहरूले धानको समर्थन मूल्य तोके पनि सरकारले नकिनिदिँदा सस्तो मूल्यमा किसानले बिक्री गर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

यस्तै गहुँ खेतीका लागि रासायनिक मल र सिंचाइको व्यवस्था गर्नसमेत प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा प्रदेशसभा सदस्यहरुले रोजगारी सृजना गर्न नसकेको, प्रदेशसभा बैठकमा विकासको बहस र छलफल हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

यस्तै प्रदेशसभा सदस्य सरिता पुनको निधनप्रति बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.