मन्त्री घिसिङ र गुप्ताद्वारा अलपत्र कमला पुलको निरीक्षण

मंसिर ५, २०८२ |विनय आजाद
मन्त्री घिसिङ र गुप्ताद्वारा अलपत्र कमला पुलको निरीक्षण

सिरहा । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा वर्षौंदेखि निर्माणाधीन पुलको निरीक्षण गर्नुभएकाे छ ।

घिसिङले सिरहाका बासिन्दासमेत रहेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतलगायतलाई सँगै लगेर शुक्रबार कमला पुलको निरीक्षण गर्नुभएकाे हाे ।

यो पुल निर्माणका लागि २०६८ जेठमै २४ करोड ९१ लाखमा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता बमोजिम २०७१ मंसिरमै पुल निर्माण भइसक्नुपर्ने थियो । तर, ठेकेदारको लापरबाहीले पटक-पटक म्याद थपिँदा पनि काम हुन सकेन ।

स्थानीयको आन्दोलनपछि १० वर्षमा निर्माणको अन्तिम चरणमा परेको यो पुल २०७८ असार १७ मा कमला नदीमा आएको बाढी थेक्न नसकी भाँसियो । त्यसयता ठेकेदारले पुनर्निर्माण गर्ने भने पनि कहिले पुल बन्ने भन्ने कुरा अन्योल छ । मन्त्री घिसिङले प्राविधिक कुरालाई सम्बोधन सरकारले गर्दै तीव्र गतिमा पुल निर्माणको काम अघि बढाउने प्रतिबद्धता गर्नुभयाे । उहाँले विगतमा पुल निर्माणमा भएको अनियमितताका विषयमा अख्तियारले छानबिन गरिरहेको भन्दै संलग्नलाई कारबाही गरिने बताउनुभयाे ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।