
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिँचाइ र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङलाई मन्त्री पद छाड्न चर्को दबाब छ । त्यो दबाब पनि आफ्नै अग्रसरतामा गठन भएको 'उज्यालो नेपाल पार्टी' का नेताहरुले दिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्मा दलभन्दा बाहिरबाट मन्त्री बनाउने पूर्वघोषणा गरिसक्नुभएकाले घिसिङ तत्काल मन्त्री पद छाडेर जाने कि नजाने भन्ने दोधारमा देखिनुभएको छ । त्यही कारण उज्यालो नेपाल पार्टीले गत कात्तिक २५ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिँदा घिसिङको नाम कतै उल्लेख गरेन ।
पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायले पार्टीको नेतृत्व सम्हाल्ने गरी आयोगमा दर्ता भएको पार्टीले ५१ सदस्यको केन्द्रीय समिति बनाएको छ ।
रोचक त के छ भने हर्क साम्पाङसँग नजिक रहेर राजनीतिक गतिविधि गरेका पहिचानवादी नेता डा. महेन्द्र लावती, गत वर्ष इलाममा सम्पन्न उप-निर्वाचनमा हर्क साम्पाङले भरमग्दुर सहयोग गरेका डकेन्द्र सिं थेगिम पनि उज्यालो पार्टीमा जोडिनुभयो । जबकि हर्क आफैं श्रम संस्कृति पार्टी दर्ता गराएर चुनावी गतिविधि गरिरहनुभएको छ ।
डा. महेन्द्र लावती नवगठित उज्यालो नेपाल पार्टीका तेस्रो वरियताका नेता हुनहुन्छ । उहाँको भनाइ छ- कुलमानले मन्त्री पद त्याग्नुपर्छ र पार्टीको काममा सक्रिय हुनुपर्छ ।
त्यसो त कुलमानले मन्त्रीबाट अलग भएर पार्टीलाई गति दिन नखोज्नुभएको होइन । उहाँले प्रधानमन्त्री कार्कीलाई आफू मन्त्रीबाट अलग हुने र पार्टी गतिविधि बढाउन सक्रिय हुन लागेकाले सहजीकरण गरिदिन आग्रह गरिसक्नु भएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री कार्कीले भने तत्काल मन्त्री पद नछाड्न अनुरोध गर्नुभएको स्रोतको दाबी छ । स्रोत भन्छ– 'प्रधानमन्त्रीले तत्काल पद नछाड्नुस् राम्रो सन्देश जाँदैन, यो बीचमा केही सुधारका काम भएका छन् । थप सहयोग गर्नुहोस् ।' प्रधानमन्त्रीको आग्रहपछि कुलमान घिसिङ भने केही समयका लागि पछाडि हट्नुभएको छ ।
तर, यता पार्टीमा भने पार्टीको भविष्यलाई लिएर चिन्ता र चासो राख्दै घिसिङले पद त्याग्नुपर्ने बहस बढ्दै गएको छ ।
'धेरै केन्द्रीय सदस्यसहित शुभेच्छुकहरुले कुलमानले पद त्याग्दा पार्टीलाई फाइदा हुने बताइरहनुभएको छ । यसबारे हामी छलफलमा छौं,' डा. लावतीले कान्तिपुर टीभीसँग भन्नुभयो ।
कुलमान घिसिङ मन्त्री भइरहँदा उज्यालो नेपाल पार्टीले देखेको ५ समस्या
१. कुलमान घिसिङको नयाँ र वेदाग अनुहार लिएर चुनावमा जाँदा चुनाव जित्न सहज हुन्छ । अहिले मन्त्री हुँदा भ्रष्टाचारका विभिन्न विषयमा नाम जोडिएका छन् । यसले चुनावमा असर गर्छ ।
२. सरकारमा हुँदा प्रचार-प्रसारमा अवरोध खडा हुन्छ । कुलमानको पार्टी भनेर अहिलेदेखि प्रचार नगरे पछि समय कम हुन्छ ।
३. पछिल्लो समय मन्त्री हुनु बदनाम हुनुजस्तै भएको छ । मिडियाको निशानामा परियो भने निस्किन सहज छैन ।
४. जेन-जीले सुशासन कायम गर्न र भ्रष्टाचारको छानबिन गर्न भनिरहेका छन् । चुनावी सरकारले त्यो सबै गर्न सक्दैन । यसले चुनावमा असर गर्छ ।
५. सबैभन्दा बढी बजेट कुलमानले सम्हालेका मन्त्रालयमा छ । कर्मचारीले कहीँ-कतै गड्बडी गरे नेतृत्वको हिसाबले कुलमानमाथि नै प्रश्न उठ्न सक्छ । अत: कुलमानमाथि प्रश्न उठ्दा पार्टीलाई फाइदा हुँदैन ।
कुलमानले के गर्लान् ?
मन्त्री घिसिङको सम्भावित कदम के हुन सक्छन्
१. पार्टी नेताहरुको कुरा सुन्ने र तत्काल मन्त्री पद त्याग्ने
२. विवादित काम नगर्ने पार्टीलाई पनि समय दिने
३. निर्वाचनपूर्व मात्रै पार्टी नेतृत्व हातमा लिने
४. आफू अहिले फ्रेममा नदेखिने तर, नेताहरुलाई व्यापक रुपमा कुलमानको पार्टी भनेर प्रचार गर्न लगाउने
५. लोकार्षण बढी हुने टुक्रे काममा बढी केन्द्रीत हुने, निर्वाचनको माहोल बढाउँदै जाने र उपयुक्त समयमा मन्त्री पद त्याग्ने