
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षामा असरपर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न सरकार, राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको सवालमा गम्भीर हुन आग्रह सबैलाई आग्रह गरिएको छ । “कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ” विज्ञप्तिमा भनिएको छ, “देशको शान्ति सुरक्षामा असरपर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ ।”
अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको र आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी जानकारी लिएको बताइएको छ ।
आयोगले प्रसाईंलाई मंगलबार राति १२:३० बजे निजको निवास सानो ठिमी, भक्तपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको, प्रहरी प्रतिवेदनअनुसार सार्वजनिक शान्तिसुरक्षा विरूद्धको अनुसन्धानका लागि पक्राउ गरिएको भनी निजलाई पक्राउ तथा थुनुवा पूर्जी दिइएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ ।-रासस