
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मनोनयनपत्र दर्ता गर्ने गरी निर्वाचन कार्यक्रमको तयारी गरेको छ ।
आयोगले राजनीतिक दलहरूसँगको छलफलका आधारमा माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तयारी गरेको हो । माघ ६ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने, ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने र ८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने गरी निर्वाचन कार्यक्रमको तयारी गरिएको हो ।
उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह पनि माघ ९ गते नै दिने तयारी छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा र मंसिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
त्यसैगरी आयोगले तयारी गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिक निर्वाचनमा भाग लिन चाहने दलहरूले मंसिर २१ गतेदेखि २३ गतेसम्म आयोगमा निवेदन पेस गर्नुपर्नेछ । समानुपातिक निर्वाचनमा भाग लिन चाहने दलको नामावली २४ गते प्रकाशन गर्ने, नाम फिर्ता लिन चाहने दलले २५ गते र अन्तिम नामावली २६ गते प्रकाशन हुनेछ । निर्वाचन चिन्ह पनि २६ गते नै प्रदान गर्ने कार्यक्रम छ । राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्न पुस १३ र १४ गते तोक्ने तयारी छ ।
यसैगरी आयोगले निर्वाचन पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थालाई आह्वान गरेकामा तीन वटा अन्तर्राष्ट्रिय र ३४ वटा राष्ट्रिय संस्थाबाट आवेदन परेका छन् ।