सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालन हुने

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालन हुने

काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । 

गत भदौ २४ गतेको जेन-जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरूद्ध सबै सेवाहरूको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

“मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,” अदालतको सूचनामा भनिएको छ, “अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्‍याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

बैठकले सेवा अवरूद्ध भएका मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.