सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू

काभ्रे । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरू गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले शुक्रबारदेखि नयाँ लाइसेन्स छाप्न सुरू गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाइको शुभारम्भ गर्नुभयो ।

सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइकाबाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाईको काम सुरू गरिएको बताउनुभयो । उहाँले वर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ गरिएको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“वर्षौदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिनहरू यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । धुलो टकटक्याएर छपाइको काम थालेका हौँ ।” उहाँका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भएपनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन । 

“अहिले हामीले निकै मेहेनत गरेर सरकारी प्रेसबाटै लाइसेन्छ छपाइ सुरू गरेका छौ”,सञ्चारमन्त्री खरेलले भन्नुभयो,“ २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाइ सुरू गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच रहेको छ ।”

लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधै विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था  र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरू गरिएको बताउनुभयो ।

उहाँले नीतिगत समस्या, वेथितिको मुद्दा मामिला, बजेट र जनशक्तिको अभावलाई चिर्दै लाइसेन्स छपाइ सुरू गरिएको उल्लेख गर्नुभयो । उहाँले अगाडि थप्नुभयो,“सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो । केन्द्रको वेथिति, कानुनी अफ्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोत साधनको सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्छ छपाइ सुरू गरिएको हो । अब क्रमशः अन्य विभिन्न छपाइ पनि केन्द्रबाटै छाप्छौं । यसबाट मुलुकको पैसा बाहिर जान रोक्निछ । राष्ट्रिय सुरक्षाका हिसाबले पनि महत्वपूर्ण र राम्रो सुरूवात हो । यसलाई निरन्तरता दिनुपर्छ ।”

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरू गरिएको जानकारी दिनुभयो । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरूप आजबाट काम सुरू गरिएको हो । 

सुरूमा दैनिक पाँचसय र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । काडमा आधारित छपाइ सुरू गरिएको हो । निर्माणाधीन भवनबाट कागजी छपाइको काम अबको छ महिना भित्र सुरू गरिनेछ । कार्यकारी निर्देशक ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झन्डै रू तीन अर्ब लगानी भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.