सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैन : कानूनमन्त्री सिन्हा

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैन : कानूनमन्त्री सिन्हा

काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरूलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताउनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उहाँले यस्तो दाबी गर्नुभएको हो । शुक्रबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरूसँगको पटक-पटक छलफल गर्नुपर्ने बाध्यताले राजनीतिक दलहरूसँगको सम्पर्क केही ढिला हुन गएको पनि स्पष्ट पार्नुभयो । 

सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेर अघि बढ्दा असहज परिस्थिति आउँछ भनेर अनुभुति गरिरहेको उहाँको भनाइ थियो । मन्त्री सिन्हाले वर्तमान सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्ने एक मात्रै लक्ष्य लिए पनि असन्तुष्ट पक्षको सुनुवाइ गर्नुपर्ने, सरकारको दैनिक काम पनि गर्नुपर्ने भएकाले निर्वाचनको तयारीको कामले तीव्रता नपाएजस्तो देखिएको पनि तर्क गर्नुभयो । 

उहाँले सुरूका दिनमा सरकारले जेन-जी समूहहरूसँगको छलफलमा धेरै समय बिताउनुपरेको पनि उल्लेख गर्नुभयो । मन्त्री सिन्हाले मुलुकको सुरक्षा अवस्थालाई सहज बनाउन सर्वसाधारण जनताले प्रहरीलाई गरेको सहयोगको समेत खुलेर प्रशंशा गर्नुभयो । उहाँले सुरक्षा व्यवस्थालाई सहज बनाउने कठिन कार्यमा सरकारलाई सर्वसाधारण जनताले ठूलो साथ दिएको समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.