जेन-जी आन्दोलनमा क्षतिग्रस्त संरचना तत्काल मर्मतसम्भार गर्ने कोशी प्रदेश सरकारको निर्णय

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनमा क्षतिग्रस्त संरचना तत्काल मर्मतसम्भार गर्ने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका भौतिक संरचनाको मर्मतसम्भार तत्काल सम्पन्न गर्ने र पुनःनिर्माण गर्नुपर्ने संरचनाको तत्काल प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मर्मतसम्भार र पुनःनिर्माणको नेतृत्व भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिने निर्णयसमेत गरेको छ । जेन-जी आन्दोलनको क्रममा आगजनीबाट पूर्णरूपमा नष्ट भएका सामग्रीलाई मिनाहा गर्नुपर्ने भए मिनाहा गर्ने र केही बाँकी रहेको भए तत्काल लिलाम गर्ने निर्णय भएको छ । 

त्यस्तै जलेका र तोडफोड भएका सवारीसाधन मर्मतसम्भार गरी चलाउन मिल्ने भए मर्मत थाल्ने, बीमा रकम प्राप्त गर्न तत्काल प्रक्रिया अघि बढाउने पनि निर्णय भएको छ । जलेर नष्ट भएका सवारी साधनको यातायात व्यवस्था कार्यालयमा तत्काल लगत कट्टा गर्ने सरकारको निर्णय छ । 

कोशी सरकारले नयाँ सवारी साधन खरिद गर्नैपर्ने भए आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वय र आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिमा मात्र खरीद गर्ने निर्णय छ गरेको छ। यातायात व्यवस्था विभागको सर्भरमै क्षति पुगेका कारण सवारी चालक अनुमति पत्रको नवीकरण हुन नसकेकाले नवीकरण गर्नुपर्नेको हकमा सेवा अवरूद्ध भएको मितिदेखि सेवा सुचारू भएको मितिसम्मको अवधिलाई शून्य समय मानेर जरीवाना नलिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.