लगातारको वर्षा र पहिरोका कारण अवरूद्ध बनेका विभिन्न राजमार्ग आजदेखि सञ्चालनमा

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
लगातारको वर्षा र पहिरोका कारण अवरूद्ध बनेका विभिन्न राजमार्ग आजदेखि सञ्चालनमा

काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण अवरूद्ध बनेका विभिन्न राजमार्ग आइतबारदेखि सञ्चालनमा आएका छन् । 

बाढी पहिरोले तीन दिनदेखि अवरूद्ध भएको बीपी राजमार्गको काभ्रे खण्डमा ठाउँ-ठाउँमा डाइभर्सन बनाएर सञ्चालनमा आइएको छ । रोशी गाउँपालिका-७ स्थित चारसय बेशी, रोशी-९ को बोक्सीकुना, नार्के र घुमाउने तथा नमोबुद्ध-६ चौकीडाँडा क्षेत्रमा डाइभर्सन बनाएर सवारी आवागमन खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीले सडकको अवस्था अझै कमजोर र चिप्लो रहेकोले विशेष सतर्कता अपनाई यात्रा गर्न अनुरोध गरेको छ । सडक विभागले पनि आगामी केही दिन निरन्तर अनुगमन र मर्मत कार्य जारी रहने बताउँदै सडकमा देखिएका समस्या तत्काल समाधान गर्न प्राविधिक टोली परिचालनमा रहेको जनाएको छ ।

त्यस्तै वर्षाले अवरूद्ध मेची राजमार्गमा आइतबारखि यातायातका साधन चल्न थालेका छन् । सडक मर्मतपछि सञ्चालनमा ल्याइएको हो । गत असोज १८ को वर्षापछि भन्डै दुई साता अवरूद्ध सडक पछिल्लो बेमौसमी वर्षाका कारण फेरि बन्द भएको थियो ।

नावा खोलामा आएको बाढीले सडकमा क्षति पुर्‍याएपछि अवरूद्ध तमोर करिडोर पनि मर्मतपछि आइतबार दिउँसोदेखि सञ्चालनमा आएको छ । तमोर करिडोर आयोजनाले पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा बाढीले बगाएको पहुँच मार्ग मर्मत गरेसँगै यो सडकमा सवारीसाधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिषकुमार कर्णले जानकारी दिनुभयो । बाढीपछि यो सडक कात्तिक १३ गतेदेखि अवरूद्ध थियो ।

उता वर्षाले हिलाम्मे बनेको पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड आइतबार पनि एकतर्फी मात्रै चलेको छ। जसका कारण दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न ६ घण्टाभन्दा बढी समय लागेको छ। हिलोमा सवारी फस्दा र खाल्टाखुल्टीको कारण सवारी जाम भएको हो । ठूला सवारीलाई डोजरले धकालेर पार गराउनुपर्ने अवस्था छ । शुक्रबार रातिदेखि नै यो खण्डमा सवारी आवागमन असहज छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.