
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । बिगो बमोजिमको रकम बुझाई बाहिरै बसेर मुद्दाको पुपक्ष गर्न पाउँ भन्दै लामिछानेले दिएको निवेदनमा आजका लागि सुनुवाई तोकिएको थियो । लामिछानेसँगै छबिलाल जोशीको मुद्दाको समेत सँगै सुनुवाई हुने भनिएको थियो ।
सुनुवाईका लागि उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलास तोकिएको थियो ।
यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएका कारण दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।
तर छबिलाल जोशीको तर्फबाट आवश्यक कागजी प्रकृया नपुगेको कारण मुद्दा हटाउँदा रवि लामिछानेको मुद्दाको सुनुवाई पनि स्थगित भएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा रुपन्देही अदालतले उनीहरुलाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो । बिगो रकम बुझाएर बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न दिन पनि अस्वीकार गरेको थियो ।