
काठमाडौं । संसद् सचिवालयले राष्ट्रिय सभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको छ ।
एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिना भन्दा बढी हुनु नहुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रिय सभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य गरिएको थियो । भदौ मसान्तबाट ६ महिनाभित्रमा अर्को अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र गत भदौ २३ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको थियो । त्यहाँ बैठक बस्नसक्ने स्थिति छैन ।
त्यसैले संसद सचिवालयले राष्ट्रिय सभाको बैठक राख्न अर्को ठाउँको खोजी गरिरहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताउनु भयो । उहाँकाअनुसार राष्ट्रिय सभा स्थायी सभा हो र भदौ मसान्तमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएकोमा त्यसको ६ महिनाभित्रै आह्वान भइसक्नुपर्ने अवस्था छ ।
अधिवेशन आह्वान भइहालेको अवस्थामा बैठक बस्ने स्थानको अभाव रहेको उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगजनीपछि खण्डहर भएकाले बैठक बस्नसक्ने स्थिति नरहेको उहाँले बताउनु भयो । निर्माणाधिन संसद् भवनको काम समयमै सकिए नयाँ संसद् भवनबाट बैठक सञ्चालन गर्न सकिने नत्र सिंहदरबारस्थित कृषि समितिको सभा हलबाट बैठक सञ्चालन गर्नेगरी छलफल अघि बढेको उहाँले बताउनु भयो ।
यसअघि पनि कृषि समितिको हलबाट राष्ट्रिय सभाको बैठक सञ्चालन भएको भए पनि केही व्यवस्थापनमा जोड दिनुपर्ने उहाँकाे भनाइ छ। दर्शक, सञ्चारकर्मी, अडियो, भिडियो कन्फरेन्सको व्यवस्थापन गर्नुपर्ने चुनौति रहेको उहाँले बताउनु भयो ।
गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन आगजनी र तोडफोडबाट खण्डहर भएको छ । सरकारले संसद् अधिवेशन आह्वान गरिसकेको खण्डमा बैठक कहाँबाट सञ्चालन गर्ने भन्नेमा संसद् सचिवालय स्थानको खोजी गरिरहेको छ ।
जेन-जी युवाहरूले आन्दोलनका क्रममा संसद् भवनसहित, सिंहदरबार, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड गरेका थिए ।