कोसीमा हाई अलर्ट, ४ लाख ३१ हजार क्युसेक बहाव हुँदा सबै ढोका खोलियो

आश्विन १९, २०८२ |आरएन विश्वास
कोसीमा हाई अलर्ट, ४ लाख ३१ हजार क्युसेक बहाव हुँदा सबै ढोका खोलियो

सप्तरी । सप्तकोसी नदीको बहाव उच्च हुँदा कोसी बाँधमा हाई एलर्ट भएको छ भने बहाव बढ्ने क्रम जारी छ । आईतवार बिहान ९:१५ बजे सप्तकोसी नदी क्षेत्रमा वर्षा भईरहेको र अरु नदीहरुको पानी कोसीमा आउँदा बहाव उच्च भएको हो ।

आईतवार बिहान ९:१५ बजेको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड ४ लाख ३१ हजार ५२५ क्यूसेक पानीको बहाव रेकर्ड भएको छ भने कुल ५६ वटै ढोका खोलिएको छ । गतवर्ष असोजमै ६ लाख ३१ हजार बहाव हुँदा काेसी ब्यारेज माथिबाटै कोसी बग्न थालेको थियो ।

सप्तकोसीमा सुनकोसी, दुधकोसी, भोटेकोशी, इन्द्रावती, अरुण, तमोर र तामाकोसी गरी सातवटा नदीहरूको पानी मिसिने गर्छन् । पहाडी जिल्लाहरूमा लगातार भइरहेको वर्षाले कोसीका यी सहायक नदीहरुमा जलस्तर बढेपछि कोसीको बहाव पनि उच्च भएको हो । पहाडी क्षेत्रका खोलानदीहरूको पानी कोसीमा आइपुग्न करिब ६ देखि ७ घण्टा लाग्ने गर्छन् ।

यता कोसी ब्यारेज हुँदै सवारीसाधनहरूको आवतजावत कम गतिमा भइरहेको छ । तर, कोसी ब्यारेज र नदी क्षेत्रमा सर्वसाधारणलाई माछा मार्न, दाउरा टिप्न तथा अनावश्यक रूपमा नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।