मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा, अरु कुन ठाउँमा कति ?

आश्विन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा, अरु कुन ठाउँमा कति ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो छ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ । यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ ।

मधेशको वीरगन्जमा ६४ मिलिमिटर पानी परेको विभागले जनाएको छ । त्यस्तै गौरमा ५७, महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार पछिल्लो ६ घण्टामा मधेश, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कम मात्र वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा भने गोदावरी स्टेसनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ ।

कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागले जारी गरेको बुलेटिनअनुसार विशेष गरी कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिएको छ । वर्षा गराउने प्रणाली पूर्व र उत्तर-पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.