कुलमानको भारत भ्रमण स्वीकृत, प्रधानमन्त्री मुख्य सल्लाहकारमा अजयभद्र खनाल

आश्विन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुलमानको भारत भ्रमण स्वीकृत, प्रधानमन्त्री मुख्य सल्लाहकारमा अजयभद्र खनाल

काठमाडौं । अन्तरिम सरकारले २०८२ कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ बैठकमा भाग लिन उर्जा जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिएको छ ।

असोज १२ गते आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो ।

उहाँकाअनुसार सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइते भएका व्यक्तिहरूको पुनः उपचारका लागि अस्पतालहरू तोक्ने, ति अस्पतालहरूमा जेन-जी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ । पुनः उपचारका लागि जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय गरेको छ ।

घाइते भएका व्यक्तिहरूको उपचारका लागि हट लाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकी निजको सम्पर्क नम्बर समेत सार्वजनिक गर्ने निर्णय गरेको छ ।

घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको उहाँले बताउनु भयो । प्राविधिक समितिले वर्गीकरण गरेपछि घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको छ ।

मुग्लिङ-पोखरा सडकअन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको मुग्लिङ बजारको पारी पटी त्रिशूली किनार गोरखातर्फदेखि मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत गृहको पारीपटी गोरखातर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको छ ।

सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५-१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.