काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ ।
आइतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूमा सरकारको नीति र कानून विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरूमा अवरोध गर्ने कार्यहरू बढेकाले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् ।
उक्त पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रूपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरूलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।
विशेष गरी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनामा भोटेकोशी गाउँपालिका जेन-जी समूहका नाममा १० प्रतिशत शेयर निःशुल्क लगायतका माग राखेर विगत १७ दिनदेखि विद्युत् गृह बन्द छ भने यही कारण दैनिक करिब रु ९८ लाखसहित हालम्म रू १६ करोडभन्दा बढी गुमाउनु परेको उल्लेख छ ।
विद्युत् गृह बन्द गरेपछि पनि दैनिक रूपमा गर्नुपर्ने मर्मत सम्भार र अनुगमनका लागि समेत जान नदिएको घटनाप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासीको नाममा १० जलविद्युत् आयोजनासँग निःशुल्क सेयर मागेर सम्बन्धित आयोजनाहरुमा पत्र पठाइएको तथा अन्य अन्य क्षेत्रहरुमा समेत विभिन्न माग राखेर आयोजनाहरुमा अवरुद्ध गर्ने क्रम बढेको छ भन्दै ती आयोजनाहरूमा शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ ।
आयोजनामा हुने अवरोधले आयोजनाको लागत र समय बढ्नुका साथै निजी क्षेत्रको लगानीलाई पूर्ण रूपमा निरूत्साहित पनि बनाउने उल्लेख गरिएको छ ।-रासस