दैलेख । दशैंले छपक्कै छोपिसके पनि यसपालि दैलेखमा त्यति उत्साह देखिएको छैन ।
रोजगारीका लागि गाउँ छोडर देश परदेश पसेका युवाहरू फर्किएका छैनन् । त्यसैले सदरमुकामको बजारमात्रै नभएर गाउँहरू पनि सुनसान छन्। गाउँमा बाबुआमाहरू परदेशिएका छोराछोरीहरू आउने बाटो हेरेर कुरिरहेका छन् ।
दैलेखमा यसपटक दशैंको खासै चहलपहल छैन । अध्ययन, रोजगारी र अन्य सेवा सुविधाको खोजीमा परिवार छोडेर देश परदेश लागेका मानिसहरू दशैंमा घर फर्किएका छैनन । अर्को महत्वपूर्ण चाड तिहार आउन पनि अब धेरै बाँकी छैन ।
यस्तोमा छोराछोरी घरमा नआउँदा वृद्ध बाबाआमा सन्तानलाई सम्झिदै भक्कानिन्छन् । राम्रो शिक्षा, स्वास्थ्य उपचार र परिवारको गुजारा चलाउन घरपरिवारसँग छुट्टिएर वर्षौंसम्म टाडा जानुपर्ने दैलेखी युवाको बाध्यता हो ।
स्वदेशमा रोजगारीका अवसर नहुँदा घरपरिवारको माया मारेर हिंडेकाकाहरू दशैंतिहार आउँदा घर फर्कन सकेका छैनन् । बरू चाडबाडकै मुखमा गाउँ छाडेर कमाउन जानुपर्ने बाध्यतामा छन् ।
त्यसैले गाउँघर सुनसान छन् । चाडपर्वका लागि खर्च जोहो गर्न भारतमा कमाउन गएका आफ्ना छोरा नातीहरूले घर फर्कने गाडीभाडा समेत पाउन नसक्दा परिवारमा झन चिन्ता वढेको छ ।
पहाडी क्षेत्रमा चार्ड पर्वमा ढुंगामाटोका घर लिपपोत गरी चिटिक्क पर्ने चलन छ । तर घरमा छोराछोरी नहुँदा एकाधबाहेक अधिकांश घर लिपपोत हुनसमेत सकेका छैनन् ।
चाडपर्वको रमाइलो, सुख दु:खमा साथ, विकास कार्यमा सहकार्य नहुँदा दुर्गम गाउँहरूमा यतिबेला कोही नभएको जस्तो देखिएको छ ।