धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको मुक्तेन गाउँका ९ घर पहिरोको उच्च जोखिममा परेका छन । मुक्तेन गाउँमा सोमबार दिउँसोबाट पहिरो जान थालेको हो ।
पहिरोका कारण मुक्तेनका ४४ वर्षीय केवलप्रसाद मगरको ढुंगामाटो र टिनको छानाले बनेको दुइतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । उनका परिवारका चार जना सदस्य अस्थायी टहरामा बसोबास गर्न बाध्य भएका छन् ।
त्यस्तै, ४८ वर्षीय मोहन मगर र ५९ वर्षीय विष्णुबहादुर मगरको चर्किएका घर जोखिमपूर्ण अवस्थामा छन् । मुक्तेनकै ४६ वर्षीया कुमारी मगर, ३५ वर्षीय राजकुमार मगर, ५२ वर्षीय भीमबहादुर मगर, ७८ वर्षीय प्रेमबहादुर मगर र ५० वर्षीय रणबहादुर मगरका घरसमेत चर्किएर बस्न अयोग्य भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।
पहिरो पीडित परिवारका करिब तीन दर्जन सदस्य अहिले छिमेकी र आफन्तको घरमा आश्रित छन् । पीडितलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था मिलाउने तयारी भैरहेको साँगुरिगढी गाउँपालिकाका अध्यक्ष राईको भनाइ छ ।