काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख, पूर्व पत्रकार तथा साहित्यकार टिपी शर्मा तिमल्सिनाको सवारी दुर्घटनापछि उपचारकै क्रममा निधन भएको छ ।
गएको साउन १० गते बिहान काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिका–२ बिस किलोस्थित बीपी राजमार्गमा दुई स्कुटर एक आपसमा ठोक्किँदा तिमल्सिना गम्भीर घाइते भएका थिए । नार्केबाट काठमाडौंतर्फ गइरहेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले बिपरीत दिशाबाट आइरहेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । धुलिखेल अस्पतालमा उपचारकाक्रममा रहेका तिमल्सिनाको आज बिहान निधन भएको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तिमल्सिना नमोबुद्ध नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो । तिमल्सिना पत्रकार एवं साहित्यकार पनि थिए । उहाँका “खाल्डोभित्र नअटेको मान्छे” नामक कृति प्रकाशनको क्रममा रहेको छ भने उहाँका दर्जनौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।