जेन-जी आन्दोलन : पुनर्निर्माणमा सप्तरीको छिन्नमस्ता गापाले ५ लाख ५१ हजार सहयोग गर्ने

भाद्र ३१, २०८२ |आरएन विश्वास
जेन-जी आन्दोलन : पुनर्निर्माणमा सप्तरीको छिन्नमस्ता गापाले ५ लाख ५१ हजार सहयोग गर्ने

सप्तरी । मुलुकमा भएको जेन-जी आन्दोलनकाे क्रममा क्षतिग्रस्त भएकाे संरचना पुनर्निर्माणका लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष विद्यानन्द चाैधरीकाे अध्यक्षतामा मंगलबार गाउँपालिकामा सम्पन्न भएको आकास्मिक बैठकले पुनर्निर्माणका लागि ५ लाख ५१ हजार रूपैयाँ सहयोग गर्ने निर्णय भएको हाे ।

बैठकले गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीकाे दुई दिनकाे तलब-भत्ता बराबर ५ लाख ५१ हजार रूपैयाँ पुनर्निर्माणका लागि सहयोग गर्ने निर्णय भएको अध्यक्ष चाैधरीले जानकारी दिनुभयो ।

"जेन-जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्नुभएको वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दछौं", बैठकपछि गाउँपालिका अध्यक्ष चाैधरीले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, "छिन्नमस्ता गाउँपालिका पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाह प्रति अटल रहँदै पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियता पूर्वक अघि बढ्नेछ ।"

यस्तै यस प्रक्रियामा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूले सेवक नेतृत्वको भावनालाई आत्मसाथ गरी नागरिकलाई कुनै पनि प्रकारको असुविधा वा अप्ठ्यारो नहुने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्दै आइरहेकोमा अझ थप परिष्कृत ढंगबाट सेवा प्रवाह गर्ने दृढ प्रतिबद्धता समेत गाउँपालिका अध्यक्ष चाैधरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।