‘अव्यवस्थित बसोबासी’ हटाइए भूमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी

भाद्र १७, २०८२ |आरएन विश्वास
‘अव्यवस्थित बसोबासी’ हटाइए भूमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी

सप्तरी । संयुक्त लोकतान्त्रिक मोर्चाका एक घटक जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भुमि विधेयबाट अव्यवस्थित बसोबासी हटाइए धेरै हदसम्म ठिक भइहाल्ने र सबैको स्वामित्व पनि हुने बताउनुभएको छ ।

मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले यस्तो बताउनुभएको हो । हाल प्रस्तावित भूमि विधेयक मधेशका लागि खतरनाक हुने र जस्ताको त्यस्तै पास गरेर कार्यान्वयन गर्यो भने तराई-मधेशलाई भविष्यमा मरूभूमि बनाउन कसैले राक्न नसक्ने दाबी पनि उहाँले गर्नुभयो ।

बरू तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा तत्कालीन सचिव रामेश्वर खनालले तयार पारेको प्रतिवेदनले चुरेमा अव्यवस्थित बसिरहेकाे ४२ हजार परिवारलाई अन्यत्र सुरक्षित स्थानमा पुनर्स्थापना गर्न दिएको सुझाव कार्यान्वयन गरेर तराईलाई मरूभूमिकरण हुनबाट जोगाउन अध्यक्ष त्रिपाठीले सरकारसँग आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष त्रिपाठीले अव्यवस्थित बसोबासीलाई वैधानिकता दिनु भनेको वन, आरक्ष, मध्यवर्ती क्षेत्र र चुरे क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई त्यहीँ जग्गाको लालपुर्जा उपलब्ध गराउनु भनेको चुरे विनाशको बाटो खोल्नु भएको दाबी गर्नुभयो ।

अहिले नै मधेशमा पानीको गम्भीर समस्या आउनुको मुख्य कारण चुरे विनाश भएकोले कुनैपनि हालतमा अव्यवस्थित बसोबासीलाई चुरेको जग्गा दिन नहुने अध्यक्ष त्रिपाठीको तर्क छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।