काठमाडौं । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले भिजिट भिसामार्फत कुवेत लगेर झन्डै ४० हजार महिला बेचिएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भिजिट भिसामा अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने गरेको देखिएको बताउनु भयो । उनीहरू अहिले एउटै घरमा वन्धकको रूपमा रहेको र उद्धारको माग गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘करिब ४० हजार महिलाहरू भिजिट भिसामा कुवेतमा लगेर बेचिएको समाचार आइरहेको छ । अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने रहेछन् । एउटै घरमा वन्धकको रूपमा राखिएको र उद्धारको माग गरिरहेको भन्नेछ । भिजिट भिसाको प्रकरणमा त्यत्रो संख्यामा महिला बेचिँदा के भएको हो सरकार र गृह मन्त्रालयले यो रोष्ट्रममा आएर सदनलाई जानकारी दिनका लागि माग गर्न चाहन्छु ।’
उहाँले सरकार र गृह मन्त्रालयले यसबारेमा स्पष्ट पार्नुपर्ने भन्दै सदनमा सरकारको जवाफ माग गर्नुभयो ।