लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

भाद्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

पर्सा । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरूले चित्त दुखाउनुनपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्साले साेमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताउनुभयो ।

“ लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,” उहाँले भन्नुभयो, “यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौंँ ।”

गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली चीन गएको अवस्थामा मित्रराष्ट्र भारत र चीनसँग हाम्रो भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु सही भएको स्पष्ट पार्नुभयो । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने उहाँले स्पष्ट पार्नुभयो ।-रासस  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.