रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

भाद्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

देवदह (रुपन्देही) । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ । भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको कार्यदलले एक महिलासहित तीनजनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ । पार्टीको केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई नन्दलाल बन्जाडे र रुपन्देही अध्यक्ष हीराध्वज शाह सदस्य रहेको कार्यदलले तीन जनाको नाम पठाउनेछ ।

कार्यदल सातैजनासँग छलफल गर्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीन जनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीेले जानकारी दिनुभयो । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.