प्यूठान । डेढ वर्ष अघि प्यूठान नगरपालिकाको भुस्वाङ खोलामा आएको बाढीले बुढदेवीका आधा दर्जन घरमा क्षति पुर्यायो । क्षतिको हुने क्रम अझै रोकिएको छैन् । तर सरकारको नजर पुग्न नसक्दा जोखिमबस्तीका नागरिक त्रासमै बाँच्न बाध्य छन् ।
भुस्वाङ खोलामा आएको बाढीले प्यूठान नगरपालिका बुढदेवीका लीलाबहादुर नेपालीको एकतले घर पुरिदियो । बाढीले घर पुरेपछि जसोतसो उम्किएर बाँचेका लीलाबहादुर अहिले मजुवा बजारमा सानो खोका पसल भाडामा लिएर बस्दैआउनुभएको छ ।
दिनभरी जुत्ताचप्पल सिलाउने र साँझ त्यहिँ पसलमै सुत्ने लीलाबहादुर बाढीले घर पुरेपछि बिचल्लीमा पर्नुभएको छ । बाढीअघि श्रीमान-श्रीमती सँगै बस्दै आएकोमा घर पुरिएपछि लीलाबहादुर मजुवा बजारमा बस्नुहुन्छ भने श्रीमती गाउँ फर्किएर छोरासँगै बस्दैआउनुभएको छ । जुत्ताचप्पल सिलाएर गुजारा गर्ने लीलाबहादुरसँग बाढीले पुरेको घरको माटो हटाउने पैसा छैन ।
डेढ बर्षअघि आएको बाढी र त्यसपछि पनि पटकपटक भुस्वाङ खोला बस्तीमा पसेपछि बुढदेवीका आधा दर्जन परिवार विस्थापित भएका छन् । बिस्थापित भएकारू केही अन्यत्रै बसाइासरेका छन् भने केही अहिले पनि भाडाको घरमा बस्दै आएका छन् । बुढदेवीमै बसेकाहरू भुस्वाङ खोलामा आउने बाढीको डरैडरमा छन् ।
बस्तीमाथि सडक खन्दा जथाभावी फालिएको ढुंगामाटो बर्खामा भुस्वाङ खोलाले बगाउँदा बस्तीमा पसेको थियो । अहिले पनि खोलाको आसपास विभिन्न स्थानमा पहिरो र्झने, खोलाले कटान गर्ने जस्ता समस्या छन् ।
बर्षेनि खोलाले ढुंगा माटो बगाएर ल्याएर बुढदेवी क्षेत्रमै थुपार्ने गरेको छ । गत वर्षको बाढीले ल्याएको गेग्रान थुप्रिँदा बुढदेवी क्षेत्रमा खोला बस्तीभन्दा माथि छ । जसले गर्दा बुढदेवी र मजुवा क्षेत्रमा बाढीको जोखिम कायमै छ ।
व्यस्थित तटबन्ध तथा खोलाले ल्याएको गेग्रान हटाउने काम नहुँदा बुढदेवी क्षेत्र बाढीको त्रासमै छ । पानी पर्न थाल्यो भने यहाँका नागरिकलाई अहिले पनि रातभर जाग्राम बस्नुको विकल्प छैन ।