काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूले आइतबार बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटमा विपीनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायल भ्रमणका क्रममा आफूहरूले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए ।
उनीहरूले विपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरे । आमा पद्माले आफ्नो छोरो विपीन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले विपीनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभएको थियो । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र पुष्पा जोशीले हालै इजरायल भ्रमण गर्नुभएको थियो ।