काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले संसद्बाट एमसीसी अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको टिप्पणी गर्नुभएको हो ।
उहाँले सरकार अमेरिकी उपनिवेशवादी दबाबसामु टिक्न नसकेका कारण एमसीसी संसद्बाट अनुमोदन हुनु स्वाभिमानी नेपाली नागरिकका लागि पीडादायी दृश्य रहेको स्मरण गर्नुभयो ।
उहाँले संसद्भित्र एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरूको व्यवहार जनताले अस्वीकार गरेको भन्दै त्यसलाई कुरूप आत्मसमर्पणको संज्ञा दिनुभयो । एमसीसी नेपालको संविधान र कानून अनुकूल नभएको पनि उहाँको टिप्पणी छ ।
उहाँले एमसीसी परियोजनाको पारदर्शितामा समेत नागरिकको विश्वास नरहेको उल्लेख गर्दै परियोजनाका लागि खरिद गरिएका गाडी, कर्मचारीको तलब र खर्च नेपाली नागरिकका लागि अचम्मलाग्दो भएको बताउनु भयो ।
परियोजना कार्यान्वयनका लागि जमिन अधिग्रहणका विषयमा स्थानीयको गुनासो र आक्रोशको बेवास्ता गरिएकोमा नागरिकमा अझैपनि असन्तोष र आक्रोष व्याप्त रहेको उहाँले उल्लेख गर्नुभयो ।