संसदीय समितिबाट पारित भूमिसम्बन्धी विधेयक र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस

अब प्रतिनिधि सभामा छलफलपछि पास गरेर राष्ट्रिय सभामा पठाइने
भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसदीय समितिबाट पारित भूमिसम्बन्धी विधेयक र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौं । संसदीय समितिबाट बहुमतका आधारमा पारित भएका भूमि र शिक्षा विधेयक प्रतिनिधि सभामा पेस भएका छन् ।

प्रतिनिधि सभाको शुक्रबाको बैठकमा भूमि विधेयक पेस गर्दै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले विधेयकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या सम्बोधन हुने बताउनुभयो । समितिले १३ वटा बैठकमा छलफल गरी बहुमतका आधारमा विधेयक पारित गरेको थियो ।

यसैगरी विद्यालय शिक्षा विधेयक पेस गर्दै सभापति अम्मरबहादुर थापाले विधेयकमा नविनता दिने कोशिस गरेको दाबी गर्नुभयो । सभापति थापाका अनुसार शिक्षा विधेयकका विषयमा छलफल गर्न मूल समिति र उपसमिति गरी १ सय १७ वटा बैठक बसेका थिए । तथापि समितिबाट विधेयक सर्वसहमितिबाट पारित हुन सकेको थिएन ।

अब दुबै विधेयकमाथि प्रतिनिधि सभामा छलफल हुने छ । प्रतिनिधि सभाबाट पारित भएपछि विधेयकहरु राष्ट्रियसभामा जाने छन् । दुबै सदनबाट विधेयक पास भएपछि सभामुख देवराज घिमिलेले प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनुहुने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.