प्राडा शान्ता थपलिया महिला सशक्तीकरण सम्मान २०८२ रेणु अधिकारीलाई

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्राडा शान्ता थपलिया महिला सशक्तीकरण सम्मान २०८२ रेणु अधिकारीलाई

काठमाडौँ । यसवर्षको प्राडा स्व. शान्ता थपलिया महिला सशक्तीकरण सम्मान-२०८२ महिला अधिकारकर्मी रेणु अधिकारीलाई प्रदान गरिएको छ । 

कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को ३९औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । तीन दशकभन्दा बढी समयदेखि महिला हक हितका लागि योगदान गर्दै आएकी रेणु अधिकारीले सम्मानले आफुलाई जिम्मेवारी थपेको बताइन् । 

कानुनमा परिवर्तन भए पनि व्यवहारमा महिलाविरूद्धको विभेद अझैं कायम रहेको उल्लेख गर्दै उनले पीडित महिलाले न्यायको अनुभूति गर्न नसक्ने अवस्थाले दुखित बनाएको बताइन् । उनले महिलाप्रति हुने व्यवहार र मानसिकता परिवर्तनमा अझ धेरै काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

त्यस्तै, पुनावती प्रसाई महिला अधिकार र संवर्द्धन सम्मान महिला उद्यमी इन्दिरा सापकोटाले प्राप्त गरेकी छन् । साथै, उत्कृष्ट संस्था सम्मान टेवालाई र उत्कृष्ट कर्मचारी सम्मान अधिवक्ता शकुन्तला बस्नेतलाई प्रदान गरिएको छ भने यस अवसरमा रामबाबु प्रसाई छात्रवृत्ति विपन्न परिवारकी छात्रा यशोदा श्रेष्ठलाई प्रदान गरेको छ । 

कार्यक्रममा महिला उद्यमी इन्दिरा सापकोटाले महिला तथा जेष्ठ नागरिक विरूद्धको आर्थिक विभेद अन्त्यका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँलले प्राडा शान्ता थपलियाले महिलाको सम्पत्तिसम्बन्धी अधिकारका लागि गरेको संघर्षलाई स्मरण गर्दै, हालसम्म कार्यान्वयन प्रभावकारी नहुँदा महिला अधिकारमा निरन्तर प्रहार भइरहेको परिस्थितिमा ल्याकजस्ता संस्थाको भूमिका अझ महत्वपूर्ण बनेको टिप्पणी गर्नुभयो ।

ल्याककी कार्यकारी निर्देशक अनिता थपलियाले ल्याकले महिला बालबालिका तथा सिमान्तकृत समुदायको हक अधिकार, सशक्तीकरण र संक्रमणकालीन न्यायका क्षेत्रमा निरन्तर वकालत गर्दै आएको तर यो यात्रा सहज भने नभएको बताइन् । 

ल्याकले निःशुल्क कानुनी सहायतामार्फत ६२ जिल्लाका ५३ हजार ५ सय ७३ महिलालाई न्यायको अनुभूति गराउँदा सबैको सहयोगले नै उर्जा मिल्ने गरेको बताइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.