अर्घाखाँची/ अर्घाखाँचीको मालारानी गाउँपालिकामा सुन्तलाका दाना पहेलो हुँदै झर्न थालेपछि कृषकहरू चिन्तित भएका छन्।
व्यवसायिक रूपमा सुन्तला खेतीमा लागेका मालारानी गाउँपालिका–२ डाडाकटेरीका कृषकहरु लटरम्म फलेका सुन्तला झर्न थालेपछि चिन्तामा परेका हुन् ।ब्यवसायिक सुन्तला खेती गरेका झन्डै ४० घरधुरीका कृषक यतिबेला उत्पादनमा ५० प्रतिशतले गिरावट आउने भएपछि निरास भएको कृषक निमानन्द भुसालले बताउनुभयो । डाडाकटेरीमा ५ हजार सुन्तलाको रुखमा लटरम्म दाना लागेका थिए। तर अहिले दाना झरेर सकिन थालेका छन्।
गाउँभरका सुन्तला झरेर सकिन थालेपछि कृषि ज्ञानकेन्द्र अर्घाखाँचीलाई स्थानीयले सुन्तलाको रोगको उपचार गरिदिन आग्रह गरेका छन्। डाडाकटेरीमा झण्डै ४० जना कृषकहरू व्यवसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । स्थलगत अवलोकनमा पुगेका ज्ञान केन्द्रका प्राविधिक शारदा आचार्यले झरेका सुन्तलाको ल्याब परीक्षणका लागि नमुना लिइएको बताउनुभयो । अर्घाखाँचीको मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा ब्यवसायिक रूपमा सुन्तला खेती हुँदै आएको छ।
जिल्लामा झण्डै एक हजार हेक्टरमा कृषकले सुन्तला खेती गर्दै आएको छ ।