पब्लिक स्पिकिङको वर्ल्ड च्याम्पियनशिपको सेमिफाइनल पुगेकी आचार्यलाई अमेरिकाले दिएन भिसा

श्रावण ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पब्लिक स्पिकिङको वर्ल्ड च्याम्पियनशिपको सेमिफाइनल पुगेकी आचार्यलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । वर्ल्ड च्याम्पियनशिप अफ पब्लिक स्पिकिङको सेमिफाइनलमा पुग्न सफल पहिलो नेपाली संस्कृति आचार्यलाई अमेरिकाले प्रतियोगितामा सहभागी हुनका लागि भिसा दिन अस्वीकार गरेको छ । अमेरिकाको फिलाडेल्फियामा अगस्ट २० देखि हुन गइरहेको तीन दिने समारोहका लागि आचार्य छनोट हुनुभएको थियो ।

लाखौं प्रतिस्पर्धीमध्ये आचार्य विश्वभरिबाट छनोट भएका २८ मध्ये एक हुनुहुन्थ्यो । फाइनलमा पुगेर उपाधि जित्ने सम्भावना समेत भएकी आचार्य अहिले भने प्रतियोगितामा सहभागी नै हुन नपाएपछि निराश हुनुहुन्छ ।

उहाँको भिसा दुई पटकसम्म अस्वीकृत भएको छ । २२ वर्षीया आचार्यलाई कम उमेरको भएको, नेपालमा स्थायी जागिर नभएको तथा उहाँकी हजुरआमा अमेरिकामै भएकाले फर्किने सम्भावना नरहेको कारण देखाउँदै भिसा दिन अस्वीकार गरिएको उहाँले बताउनुभयो । "यसले हामी युवाहरूले भोगिरहेको समस्या र हाम्रा लागि आउने सीमितअवसरलाई समेत संकुचित पार्ने प्रवृत्ति उजागर गरेको छ", उहाँले भन्नुभयो ।

क्लब, क्षेत्र, जिल्ला तह हुँदै नेपाल, भारत, यूएई, बहराइन, बंगलादेश, भुटान, इराक, जोर्डन, कुवेत, लेबनान, प्यालेस्टाइन, कतार र ओमानको क्षेत्रीय विजेता समेत हुँदै आचार्य अमेरिकामा आयोजना हुने सेमिफाइनलमा छनोट हुनुभएको थियो । आचार्य कान्तिपुर टेलिभिजनको प्रशिक्षार्थी पत्रकार समेत हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.