धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकास्थित मुगामा प्रहरी चौकी स्थापनाका लागि समन्तभद्र थापा र उहाँकी धर्मपत्नी रस्मी थापाले ४ रोपनी जग्गा प्रदान गर्नुभएको छ ।
पाख्रीवास नगरपालिका ८ मुगा स्थायी घर भइ अमेरिका बस्दै आएका थापा दम्पतीले उक्त जग्गाको प्रमाण पूर्जा धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो । मालपोत कार्यालय धनकुटामा दर्ता कायम रहेको ४ रोपनी जग्गा कित्ताकाट गरि प्रहरीलाई उपलब्ध गराएको हो । जग्गा प्राप्त भैसकेकाले जिल्ला सुरक्षा समितिबाट निर्णय गरि चौकी स्थापनाका लागि प्रस्ताव प्रदेश प्रहरी कार्यालयमा पठाइने प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको स्वीकृतीपछि चौकी स्थापना हुनेछ । प्रहरी चौकीका लागि प्रस्ताव गरिएको स्थान धनकुटा र भोजपुरको सीमानामा पर्छ । चौकी स्थापना भए चोरी, झैझगडा, घरेलु हिंसा, अवैध कारोबार, सानातिना मुद्दामामिला र प्रकोपका समयमा तत्काल सम्वोधन गर्न सकिने प्रहरी उपरीक्षक थापाको भनाइ छ ।