कार्यबाहक प्रधानमन्त्री सिंहद्वारा लहानमा व्यापारिक बहुउद्देश्यीय भवनकाे उद्घाटन

श्रावण २२, २०८२ |विनय आजाद
कार्यबाहक प्रधानमन्त्री सिंहद्वारा लहानमा व्यापारिक बहुउद्देश्यीय भवनकाे उद्घाटन

सिरहा । कार्यबाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिरहाको लहानमा नवनिर्मित व्यापारिक बहुउद्देश्यीय भवनको उद्घाटन गर्नुभएकाे छ । सिंहले बिहीबार भवनको उद्घाटन गर्दै लहान नगरपालिकालाई हस्तान्तरण गर्नुभएकाे हाे ।

सहरी विकास मन्त्रालयको लगानीमा लहान ६ र ७ स्थित पुरानो बजारमा २८ करोड ५८ लाख १० हजार १७५ रूपैयाँमा पाँच तले व्यापारिक बहुउद्देश्यीय भवन र लहानमा १० किलोमिटर कालोपत्रे सडकसमेत निर्माण भएको हो ।

यो व्यापारिक भवनले यस क्षेत्रको आर्थिक गतिविधिमा वृद्धि ल्याउने र त्यहाँको अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने विश्वास कार्यबाहक प्रधानमन्त्री सिंहको छ । यस्तै सम्बोधनका क्रममा उहाँले चुरे संरक्षणप्रति नागरिक र सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताउनुभयाे ।

चुरे सुरक्षित रहे मात्रै मधेश सुरक्षित रहने उहाँको भनाइ छ । 'चुरे मधेशको मेरुदण्ड हो, त्यसैले मधेशलाई जोगाउन चुरे जोगाउन आवश्यक छ,' उहाँले भन्नुभयाे, 'चुरेको संरक्षण सरकारी प्रयासले मात्र सम्भव हुँदैन, नागरिक पनि जागरूक हुन जरूरी छ ।'

भवनको साँचो बुझ्दै लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले यो भवनले लहानमा व्यापारिक आकर्षण बढाएको बताउनुभयाे । यसमा युवा उद्यमीलाई प्राथमिकता दिइने र केही गर्न चाहने युवाहरूलाई नगरपालिकाले हरेक प्रकारको सहयोग गर्ने मेयर चौधरीको भनाइ छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।