पानी सङ्कटका बीच सिरहाको धनगढीमाईमा चुरेको निर्मम दोहन, नियामक निकाय मौन

श्रावण २१, २०८२ |विनय आजाद
पानी सङ्कटका बीच सिरहाको धनगढीमाईमा चुरेको निर्मम दोहन, नियामक निकाय मौन

सिरहा । मधेश प्रदेशमा खडेरीले पानीको संकट चुलिएपछि अहिले चुरे र प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्ने बहस भइरहेको छ। तर अर्कोतर्फ राज्यकै संरक्षणमा प्राकृतिक स्रोतको निर्मम दोहन रोकिएको छैन । 

सिरहाको धनगढीमाई नगरपालिकामा वर्षौंदेखि प्राकृतिक स्रोतको दोहन भइरहेको छ । जथाभावी भइरहेको उत्खननले पानीको संकट र दुर्घटनाको जोखिम बढाइरहँदा नियामक निकाय मौन छन् ।

चलचित्रका दृश्यजस्ता यी ठूल्ठूला खण्डहर सिरहाको धनगढीमाई नगरपालिकाको हो । चुरेको सिरानमा पर्ने यो नगरपालिकाको उत्तरी क्षेत्र ग्राभेल, गिटी तथा बालुवाका लागि प्रख्यात मानिन्छ । त्यही कारण त्यहाँ प्रहरी र प्रशासनलाई प्रभावमा पारेर वर्षौंदेखि अवैध दोहन भइरहेको छ । 

सबैभन्दा बढी उत्खनन् वडा ८ र १३ मा भएको छ । यसबाट कसहा, जोगियाटोल, चयनपुर, खजनपुरिया, लामा टोललगायत दर्जनभन्दा बढी गाउँ प्रताडित छन् । मधेशमा पानीको संकट चुलिँदा प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्ने बहस भइरहँदा पनि यहाँ भइरहेको दोहन रोक्न प्रशासनले सकेको छैन ।

प्राकृतिक स्रोत दोहनले यहाँ ठूल्ठूला खाल्डा परेका छन् । स्थानीयले वस्तुभाउ चराउने ठाउँमा परेका खाल्डामा वस्तुभाउदेखि मानिसहरूसमेत दुर्घटनामा पर्ने गरेका छन् । 

प्राकृतिक स्रोतको निर्मम दोहनका कारण आसपासका वस्तीमा पानीका मुहान सुकेका छन् भने खानेपानीको संकट चुलिएको छ । स्थानीयले ग्राभेल, गिटी, बालुवाको यस्तो अवैध र निर्मम दोहन रोक्न प्रहरी र प्रशासनलाई पटकपटक गुहार्दै आएका छन् । तर, स्थानीयलाई डर धम्की देखाएर रातिको समयमा उत्खनन् हुने गरेको छ । प्रहरी प्रशासनले पनि अवैध उत्खनन् गर्नेहरूलाई नै साथ दिएको आरोप प्रभावितहरूको छ ।

अवैध उत्खननमा स्थानीय राजनीतिक दलका नेताहरू नै संलग्न छन् । उनीहरूले यसरी उत्खननका लागि न नगरपालिकासँग अनुमति लिएका छन् न त प्रशासनसँग नै । सरोकारवाला निकायहरू भने एकले अर्कोलाई देखाएर पन्छिने गरेका छन् ।

त्यहाँ मात्र होइन, पूर्वपश्चिम राजमार्गभन्दा उत्तरी क्षेत्रमा पर्ने जिल्लाका विभिन्न स्थानमा पनि यसैगरी चुरे, नदी, सार्वजनिक तथा निजी जग्गाहरूबाट बेपर्वाह ढंगले गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको उत्खनन् हुँदै आएको छ । 

जसकारण आमनागरिक अस्वभाविक प्राकृतिक विपद्को सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तर, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तह तथा सुरक्षा निकायलगायतका नियामक निकाय मौन बस्नुले अनेक प्रश्न उठाएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।