काठमाडौं । साउन १५ गतेसम्म पनि पर्याप्त वर्ष नभएपछि मधेशमा पानीको संकट चुलिँदो छ ।
वर्षा नहुँदा खोला मात्रै होइन पानीका भूमीगत स्रोत पनि सुकेका छन् । घरमा धारा जडान भएको छैन, कलमा पानी आउँदैन- मधेशमा भएको यो विपद्को कारण हो– भूमीगत पानीको अनियन्त्रित प्रयोग र चुरे दोहन ।
अहिले तीनै तहका सरकारले ट्यांकरबाट पानी ओसारेर नागरिकको प्यास मेटाउने प्रयास गरिरहेका छन् । तर, कहिलेसम्म ? दीर्घकालीन समाधान के हो ?
मध्यबर्खामा पनि मधेश प्रदेश खडेरीले आक्रान्त छ । पानीका स्रोत सुक्दा सिँचाइका लागि मात्र होइन खानेपानीकै हाहाकार छ । मधेशमा किन यस्तो भइरहेको छ भनेर कारण खोजिँदै छ ।
संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले भने पानीको समस्या देखिनुको मुख्य कारण चुरे दोहन, जलभण्डारण दुरूपयोग नै भएको बताएका छन् । सांसदहरूले समस्याको तत्कालीन र दीर्घकालीन समाधानसिहतका कार्यक्रम लिएर सुक्खाग्रस्त मधेशमा पुग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरुको सुझावपछि समितिले संकटग्रस्त क्षेत्रमा तत्काल आवश्यक बजेट व्यवस्थापन गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
जल तथा मौसम विभागका अनुसार गतवर्षको तुलनामा मधेशमा ५१ प्रतिशत कम पानी परेको छ । सँगै जलवायु परिवर्तन, सहरीकरण र भू-उपयोग परिवर्तन, अप्रभावकारी सिँचाइ व्यवस्थापन र नीतिगत कमजोरीले मधेशसहित देशका धेरै ठाउँमा पानीको संकट चुलिँदो छ ।
सरकारी तथ्यांकअनुसार मधेशमा १ सय ४९ वटा खानेपानीका आयोजना अलपत्र छन् । सरकारले न बजेट विनियोजन गर्छ न वैकल्पिक उपाय नै सुझाएको छ ।
मधेश प्रदेशमा मात्रै ६० लाख मानिसको बसोबास छ । सरकारको एक अध्ययनले मधेशका ८ जिल्लामा ३० लाख मानिसलाई पानी पुर्याउन ६० अर्ब लगानी आवश्यक पर्ने देखाएको छ । कुनै समय पानीको खानीको रुपमा परिचित तराई पछिल्लो समय संकटोन्मुख हुँदा लाखौं मानिस प्रभावित हुँदा सरकारले भने अन्योलमा छ ।