दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन तनहुँले आइतबार आयोजना गरेको सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री न्यौपानेले निजामती कर्मचारी ऐन आइसकेपछि कर्मचारीका धेरै समस्या सम्बोधन हुने उल्लेख गर्नुभयो ।
उहाँले प्रतिनिधि सभाबाट उक्त ऐन राष्ट्रियसभामा आएको र राष्ट्रियसभाले पारित गरेर पुनःप्रतिनिधिसभा पठाएपछि त्यहाँबाट ऐन जारी हुने बताउनुभयो । मन्त्री न्यौपानेले ऐन आइसकेपछि कर्मचारीका धेरै सवाल समाधान हुने बताउनुभयो ।
उहाँले सङ्घीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन भएन भन्ने सवाल पनि ऐनले समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । कर्मचारी प्रशासनमा केही समस्या रहेको उल्लेख गर्दै उहाँले त्यस्ता सबै समस्या समाधान गरिने बताउनुभयो ।
मन्त्रालयको काम सरूवा बढुवा मात्रै हो की भन्ने सन्देश गएको जिकिर गर्दै मन्त्री न्यौपानेले सङ्घीयता कार्यान्वयन तथा तीन तहको सरकारको समन्वय पनि मुख्य जिम्मेवारी रहेको चर्चा गर्नुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष डोलराज पराजुलीले निजामती कर्मचारी ऐन नआउँदा तल्लो तहका कर्मचारीलाई समस्या भएको बताउनुभयो ।-रासस