काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपालीलाई संविधानले व्यवस्था गरेबमोजिमकै नागरिकता दिनुपर्ने बताउनुभएको छ ।
अमेरिका भ्रमणमा रहनुभएका श्रेष्ठले न्यूयोर्कका नेपाली समुदायलाई सम्बोधन गर्दै संविधानले नै गैरआवासीय नेपालीको अधिकारबारे प्रष्ट व्यवस्था गरेकोले सोहीअनुरूप उनीहरूलाई राजनीतिकबाहेक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिएमा विवाद नहुने धारणा राख्नुभएको हो ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले गैरआवासीय नागरिकता बाहकलाई नेपाल आउदा भिसा लिनुपर्ने झण्झटबाट मुक्त गर्नुपर्ने धारणासमेत राख्नुभयो ।
दोहोरो नागरिकताका सवालमा भने कानुनी जटिलता औल्याउँदै उहाँले विदेशमा रहेका नेपालीको ज्ञान तथा आर्थिक सवलतालाई राज्यले उपयोग गरि लाभ लिनुपर्नेमा जोड दिनुभयो ।