मनसुन भित्रिए पनि मधेशमा वर्षा नहुँदा अनुमानमाथि प्रश्न

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मनसुन भित्रिए पनि मधेशमा वर्षा नहुँदा अनुमानमाथि प्रश्न

काठमाडौं । नेपालमा समयअगावै अर्थात् जेठ १५ गते नै मनसुन भित्रियो । तर, ३ सातासम्म पनि मनसुन पूर्ण रूपमा सक्रिय हुन सकेन । 

त्यसपछि मौसम पूर्वानुमान महाशाखाले मधेशमा कम वर्षा हुन सक्ने पूर्वानुमान गर्‍यो । मौसमी प्रणाली सक्रिय हुँदै जाँदा महाशाखाले फेरि मधेशमा राम्रो वर्षा हुने अनुमान गर्‍यो । तर, मधेशमा वर्षा नै भएको छैन । 

मौसम विभागले साउन पहिलो साता पनि भारीदेखि अतिभारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्‍यो । सोहीअनुसार स्थानीय सरकारहरूले पनि सतर्कता अपनाउन आ-आफ्नातर्फबाट नागरिकहरूलाई सचेत गराए । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सतकर्ताका लागि आग्रह गर्नुभयो । तर, अनुमान गरिएअनुसार वर्षा भएको छैन ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतय बदली रहने मौसम विभागले जनाएको छ । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.