घुस डिल प्रकरण: पूर्वमन्त्री गुप्तामाथि अख्तियारको औपचारिक अनुसन्धान सुरू

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
घुस डिल प्रकरण: पूर्वमन्त्री गुप्तामाथि अख्तियारको औपचारिक अनुसन्धान सुरू

काठमाडौं । घुस डिल गरेको आरोप लागेका निर्वतमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग अख्तियार दूरूपयोग अनुसन्धान आयोगले औपचारिक अनुसन्धान अघि बढाएको छ ।

कास्कीस्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीको सरूवा थमौतिका लागि ५३ लाख र भुमि आयोगको सदस्य नियुक्तिका लागि २५ लाख रूपैयाँ माग गरेको अडियो अख्तियारले परीक्षण गरेको हो । 

मंगलबार दिउँसो करिब पौन १ बजे गुप्ता अख्तियारको कार्यालय पुग्नुभएको थियो । अख्तियारको अनुसन्धान टोलीले बाहिर सार्वजनिक भएको आवाज गुप्ताको हो कि होइन भन्ने परिक्षण गर्न पठाएको छ । 

सार्वजनिक भएको अडियो संकलन गरेको अख्तियारले आज गुप्ताको प्रत्यक्ष अडियो पनि लिएर परिक्षणका लागि पठाएको हो । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार घुस डिल गरेको अडियो र गुप्तासँग प्रत्यक्ष लिइएको अडियो दुवै एकै ठाउँमा राखेर परीक्षण गरेर आउने रिपोर्ट अनुसार थप बयानको प्रक्रिया अगाडि बढ्ने छ । 

गुप्ताले एक घण्टा अख्तियारमा विताउनुभएको थियो । अडियो परिक्षणको रिपोर्टपछि बयानको काम सुरू हुने छ । त्यसमा जोडिएका विचौलिया सुजन लामाको अडियो परिक्षणसँगै बयानपछि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि अख्तियारको अनुसन्धान घेरामै छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.