काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रही राख्ने बताउनुभएको छ ।
आइतबार २१२औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भानु जयन्ती मनाउनको मुल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरूलाई सम्झनु रहेको बताउनु भयो ।
उहाँले जुन बेलासम्म नेपाल, नेपाली, नेपाली भाषा रहन्छ तबसम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहने बताउनु भयो । उहाँले हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न नसक्ने र आफ्नो कालखण्डलाई नेतृत्व गर्ने बताउनु भयो ।
भानुभक्तले पनि साहित्यमा आफ्नो कालखण्डको नेतृत्व गर्नुभएको उहाँले बताउनु भयो । आफूले नेपाली भाषाको नेतृत्वको गरेर नेपाली भाषालाई फैल्याउने मूर्धन्य व्यक्तित्व भानुभक्त भएको बताउनु भयो ।
भानुभक्त आचार्यलाई सम्झनु भनेको नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु रहेको उहाँले बताउनुभयाे।
मन्त्री पन्तले विभिन्न भाषाहरू मर्दै गइरहेको बताउनु भयो । भाषालाई समृद्ध बनाई र संरक्षण गर्ने चुनौति रहेको उहाँकाे भनाइ छ।