बर्दिया । रसुवागढी नाका क्षेत्रमा मंगलबार राति आएको बाढीले ठूलो जनधनको क्षति भयो । अहिले पनि बेपत्ताको खोजी र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
रसुवामा आएको बाढी पछि बर्दियाको बारबर्दिया नगरपालिकाको एउटा गाउँ शोकमा डुबेको छ । त्यहाँका ५ जना रसुवागढीको बाढीमा बेपत्ता भएका छन् । यही गाउँ पुगेर हाम्रा संवाददाता कमल पन्थी र रेजिना मल्ल तयार पारेको एक रिपोर्ट ।
बारबर्दिया नगरपालिका-१० का भीमबहादुर चौधरीका छोरा सन्तोष, भतिजा बुद्धिराम र छोरीज्वाई जिपनलाई नेपाल-चीन सीमा क्षेत्र रसुवागढीमा आएको बाढीले बगाएको खबरले घरपरिवारमा ब्रजपात भएको छ । जिपनकी श्रीमती अनिता दहित ४ महिनाकी गर्भवती हुनुहुन्छ । उहाँले हिजोदेखि खानासमेत खानुभएको छैन् ।
बारर्दिया-९ का सुरेश थारू धान रोपाई सकेर असार २१ गते रसुवा जानुभएको थियो । बाढीमा उहाँ पनि बेपत्ता हुनुभएको छ । चाँडोभन्दा चाँडो खोज उद्धार गरिदिन पीडित परिवारले सरकारसँग माग गरेका छन् ।
त्यस्तै बढैयाताल गाउँपालिका-६ का लक्ष्मीनारायण थारू पनि बाढीमा बेपत्ता हुनुभएको छ । बर्दियाका ५ जना बेपत्ता भएपछि स्थानीय प्रशासनले खोजी कार्यका लागि रसुवा प्रशासनसँग समन्वय गरिरहेको छ ।
गाउँमा रोजगारीका अवसर नभएपछि बर्दियाका युवाहरू आयआर्जनको लागि रोपाइँ सकेर देशका विभिन्न भागमा निर्माण भइरहेका परियोजनामा काम गर्न जान्छन् । दुई वर्षअघि पनि संखुवासभाको सुपरहेवा जलविद्युत् परियोजनामा काम गर्न गएका बारबर्दियाकै थारू समुदायका ५ जना युवा बाढीमा परी बेपत्ता भएका थिए । पछि सरकारले उनीहरूलाई मृतक घोषणा गरेको थियो ।