अन्नपूर्ण प्रथम आरोहण मार्गमै तीव्र गतिमा बढ्दो हिमताल, तटीय बस्ती र जलविद्युत जोखिममा

पुस २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
अन्नपूर्ण प्रथम आरोहण मार्गमै तीव्र गतिमा बढ्दो हिमताल, तटीय बस्ती र जलविद्युत जोखिममा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने संसारको सातौं अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गमा पर्ने बेस क्याम्प छेउमा तिव्र गतिमा हिमताल विकास भइरहेको छ ।

एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र-इसिमोडकी वातावरणीय जोखिमविज्ञ फिनु श्रेष्ठका अनुसार पछिल्ला १२ वर्षमा यो तालको आकार ८ सय ४६ प्रतिशतले विस्तार भएको छ । श्रेष्ठले गरेको स्याटेलाइट तस्बिर विश्लेषण अनुसार सन् २०१३ मा शून्य दशमलव ०४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण हिमताल सन् २०२५ सम्म बढेर शून्य दशमलव ३८८ वर्ग किलोमिटर पुगेको छ । 

सन् २०१३ मा देखिएको तालको आकार सन् २०१५ मा तीन गुणाले बढेर शून्य दशमलव ११५ वर्ग किलोमिटर पुगेको थियो । ताल सन् २०२१ सम्म अझै बढेर शून्य दशमलव २१६ वर्ग किलोमिटर पुगेको थियो । त्यसपछि चार वर्षमा ताल विस्तारको तिव्रता डरलाग्दो देखिन्छ । सन् २०२२ देखि २०२५ बीचमा तालको क्षेत्रफल झन्डै दोब्बरले बढेर शून्य दशमलव २८८ वर्ग किलोमिटर पुगेको छ ।

अन्नपूर्ण बेस क्याम्पमा अवस्थित हिमताल, आन्तरिक पर्यटकको प्रमुख आकर्षण, अन्नपूर्ण गाउँपालिकाको राजश्व स्रोत र स्थानीयका लागि राम्रो आम्दानीको माध्यम बनेको छ । तर बर्षेनि फैलिँदा अन्नपूर्ण हिमनदीको तिव्र गतिमा पग्लेको छ । हिमाली क्षेत्रमा भइरहेको तापक्रम वृद्धिले यही गतिमा तालको आकार बढ्दै जाँदा विष्फोटनको जोखिम बढेको छ । 

यसले तालको पानी बगेको मिस्त्रीखोला तटीय क्षेत्रमा निर्माण भएका आधा दर्जन जलविद्युत आयोजना, कालीगण्डकी करिडोरमा निर्मित सडक, विद्युत लाइन र तटीय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्न सक्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.