बेपत्ताहरूको खोजी गर्न ३ सयभन्दा बढी सैनिक परिचालन

असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बेपत्ताहरूको खोजी गर्न ३ सयभन्दा बढी सैनिक परिचालन

काठमाडौं । रसुवागढीमा अचानक आएको बाढीले रसुवादेखि नुवाकोट र धादिङको त्रिशूली नदी क्षेत्रसम्मका बस्ती जोखिममा परेका छन् । बाढीको खबर पाए लगत्तै स्थानीय प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी बल उद्धारमा परिचालित भएको थियो । नेपाली सेनाका दुई वटा हेलिकोप्टरसहित बेपत्ताहरूको खोजी गर्न ३ सयभन्दा बढी सैनिक रसुवाको भोटेकोशीदेखि त्रिशुली नदी क्षेत्रमा परिचालन गरिएको छ ।

चीनसँगको उत्तरी नाका रसुवागढीमा बाढी आएको खबर लगतै नेपाली सेनाले दुई वटा हेलिकोप्टर उद्धारका लागि परिचालन गरेको थियो । नेपाली सेनाले श्रीनाथ गणबाट १ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ । सशस्त्र प्रहरी बलले विपत्त उद्धारमा तालिम प्राप्तसहित ७० जनाभन्दा बढीलाई रसुवागढी र भोटेकोशी क्षेत्रमा पठाएको छ । 

बाढीमा परेर बेपत्ता भएकाहरूलाई बगाएर ल्याउन सक्ने र बाढीको जोखिम पनि कम नभएकाले बैरेनी बाहिनीबाट २ सय जना त्रिशूली नदी क्षेत्रमा परिचालन गरिएको छ । नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय रसुवाबाट आफ्नो टोली घटनास्थलतर्फ पठाएको छ । स्याफ्रुबेंसी हुँदै रसुवागढीसम्म जाने बाटो पहिरोका कारण अवरुद्ध छ । रसुवाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षाका प्रमुखहरू पैदलै घटनास्थलतर्फ गएका छन् । 

विभिन्न स्थानमा फसेका ५७ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । बाढीका कारण भएको क्षतिबारे भने उद्धारमा खटिएको टोली फर्किएपछि मात्रै खुल्ने नेपाली सेनाले जनाएको छ । 

सेनाले बाढीका कारण त्रिशूली नदीको किनार क्षेत्र जोखिम रहेको भन्दै सतर्क रहन भनेको छ । सशस्त्र प्रहरी बलले पनि नदी आसपास क्षेत्रमा उद्धारमा लागि गोताखोरसहितको फौज परिचालन गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.