काठमाडौं । रसुवागढीस्थित नेपाल-चीन सीमा क्षेत्रमा आएको बाढीका कारण ७ जनाको मृत्यु भएको छ भने २० जना सम्पर्कविहीन भएका छन् । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ भने रसुवागढीको सुक्खा बन्दरगाहमा समेत क्षति पुगेको छ ।
गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा चीनतर्फबाट एकाबिहानै भोटेकोशी नदीमा भीषण बाढी आएको हो ।
सुरक्षा निकायले २० जना बेपत्ता भएको प्रारम्भिक जानकारी दिए पनि यकिन जानकारी आइनसकेको श्रीनाथ गणका गणपति प्रमुख सेनानी प्रद्युम्न गौतमले जानकारी दिनुभएको छ । हालसम्म बाढीमा फसेका ५७ जनाको उद्धार गरिएको छ । तीमध्ये ३० जनालाई हेलिकोप्टरबाट र २७ जनालाई टिमुरे क्षेत्रबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
बाढीमा परेर बेपत्ता भएकामा नेपाल प्रहरीका सहायक निरीक्षक लीलाबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा रहेको जनाइएको छ । त्यस्तै ६ जना चिनियाँ नागरिक र ९ नेपाली नागरिक बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुने नेपाली नागरिकहरूमा बर्दिया घर भएका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारू, लक्ष्मण थारू, सुरेश थारू र बाग्लुङका नरेन्द्र विक छन् ।
त्यस्तै कन्टेनर चालक फुर्वा लामा, मिक्स्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ बेपत्ता भएका छन् । भोटेकोशी नदीमा आएको बढीले कटान गर्दा पहिरो झरेर स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १४ किलोमिटर सडक ठाउँ-ठाउँमा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले असार १० गते सूचना जारी गर्दै बाढीको जोखिमप्रति सतर्क रहन आग्रह गरेको थियो । जोखिम भएकाले टिमुरे भन्सारमा रहेका गाडीहरू समेत हटाउन भनिएको थियो । तर पूर्वसूचनाका बावजुद रसुवामा ठूलो क्षति भएको छ ।
यसैबीच त्रिशूली नदी बग्ने जिल्लाहरू नुवाकोट धादिङ हुँदै चितवनसम्म क्रमश: पानीको सतह घट्दै गएको छ । यद्पि स्थानीय प्रशासनहरूले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
यसैबीच सिन्धुपाल्चोक प्रशासनले चीनको तिब्बतस्थित न्यालम क्षेत्रमा वर्षा भइरहेको जानकारी आएकाले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले अरनिको राजमार्गको बन्देउदेखि लिपिङसम्म सवारीसाधन चलाउँदा पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।