वर्षाले देशभरका सडक तथा राजमार्ग प्रभावित- २२ स्थानमा सडक अवरूद्ध, ४० स्थानमा एकतर्फी

देशभर ६२ सडक प्रभावित, २२ स्थानमा सवारी अवरूद्ध
असार ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
वर्षाले देशभरका सडक तथा राजमार्ग प्रभावित- २२ स्थानमा सडक अवरूद्ध, ४० स्थानमा एकतर्फी

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६२ सडक तथा राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । २२ स्थानमा सडक अवरूद्ध भएका छन् भने ४० स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा छन् ।

पूर्व-पश्चिम राजमार्गको दुम्किबास दाउन्ने सडक रातिबाट फेरि अवरूद्ध भएको छ । यता, बाग्लुङको दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरूद्ध भएको छ । 

त्यसैगरी बेनी-जोमसोम सडकको रूप्से खण्डमा पहिरो खस्दा अवरूद्ध भएको सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी गोविन्द सुवेदीले बताउनुभयो । यसैगरी सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्ड १० घण्टापछि एकतर्फी खुलेको छ ।

उता, भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी-१, कान्छीबजार नजिकको छलगाड खोलाको बहावका कारण सवारी आवागमन पूर्णतः अवरूद्ध भएको छ। बाढीको चपेटामा परेपछि सदरमुकाम दुनैबाट नेपालगन्ज र अन्य गन्तव्यतर्फ छुटेका गाडीहरू तथा नेपालगन्ज हुँदै दुनैतर्फ आइरहेका गाडीहरू दुवै छेउमा थन्किएर रोकिएका छन् । यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

यता, काभ्रेको धुलिखेल नगरपालिका- ११ पात्लेखेतमा आएको लेदोसहितको पहिरोले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाजुले बताउनुभयो ।

अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित कोदारी खण्डमा पहिरो खसेपछि चीन जोड्ने कोदारी राजमार्ग तीनदिनदेखि अवरूद्ध रहेको छ । सोमबार रातिदेखि वर्षाका कारण भोटेकोशी गाउँपालिकाको वडा नम्बर २ को कोदारी कोप्लाङमा पहिरो र वडा नम्बर ३ को लार्चामा ह्युमपाइप बगाएपछि राजमार्ग बन्द रहेको प्रहरीले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.