काभ्रे । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाढी र पहिरोको सम्भावित जोखिमका कारण भोलि अर्थात् शनिबारदेखि पहिलो चरणमा साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रु गाडी चलाउन रोक लगाउने निर्णय भएको जानकारी दिनु भयो ।
काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड जोखिमयुक्त भएकाले सार्वजनिक तथा निजी यात्रुवाहक गाडी सञ्चालन रोकिएको हो। सुरक्षा निकायले सहकार्य र समन्वयमार्फत यात्रुलाई सुरक्षित यात्रा गराउन सबै आवश्यक उपाय अपनाइने जनाएको छ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गरी यो निर्णयको औपचारिक जानकारी दिने तयारी गरेका छन्। यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सबै पक्षले सहयोग गर्नुपर्ने अपील समेत गरिएको छ।