काठमाडौं । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्थामा रहेको झन्झट हटाउँदै अब उप्रान्त आमाले स्वघोषणा गरेमा बालबालिकाले आमाको नामबाट नागरिकता पाउन सक्ने व्यवस्था गरिएको विधेयक संसदीय समितिले पारित गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले सरकारले ल्याएको नागरिकता विधेयक पारित गरेको हो ।
विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था गरिएको छ । विधेयकमा आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । तर यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ ।
आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो । यसअघि नागरिकता लिनका लागि आमा र बाबुको नाम अनिवार्य थियो ।
गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयका लागि भने सरकारले छुट्टै कानुन बनाउने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ ।
गोरखा सैनिकका समस्या समाधान गर्न पनि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएको सरकारले जनाएको छ ।