मकवानपुर । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने मागसहित पीडित बचतकर्ताले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेरेका छन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका बचतकर्ताहरूले सोमबार मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न दबाब दिएका हुन् ।
उनीहरूले एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको तर सुनुवाइ नभएको भन्दै दबाब दिन पुनः हेटौंडा आएका हुन् ।
सरकार पीडितको पक्षमा उभिनुको सट्टा समस्याबाट पन्छिन खोजिरहेको पीडितले आरोप लगाएका छन् । १३ हजारभन्दा बढी शेयर सदस्य रहेको सो सहकारीको २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । प्रदेश सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर निक्षेप सुरक्षित गर्नुपर्ने उनीहरूको माग छ । सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने थुनामा रहे पनि अन्य आरोपितहरूलाई कारबाही गर्न सरकारले नसकेको भन्दै पीडितहरूले राज्यको मिलोमतो रहेको आशंका गरेका छन् ।
मन्त्रालयको सहकारी महाशाखाका अनुसार हालसम्म बागमती प्रदेशमा ५ वटा सहकारी समस्याग्रस्त घोषित भएका छन् ।