विपिन जाेशीकाे बारेमा पहल गर्दा पनि अवस्था पत्ता लाग्न सकेन : परराष्ट्रमन्त्री राणा

उनी अझैं जिवीत रहेको हुन सक्ने परराष्ट्रमन्त्री राणाको भनाइ
जेष्ठ २०, २०८२ |टेकराज जोशी
विपिन जाेशीकाे बारेमा पहल गर्दा पनि अवस्था पत्ता लाग्न सकेन : परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको बारेमा धेरै पहल गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेको बताउनु भएको छ ।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र मन्त्री राणाले इराक र इजिप्टमार्फत् हमाससँगै कुरा गरेपनि उनको अवस्था पत्ता लाग्न नसकेको बताउनुभयो । 

इजरायल र हमास समूहबीच भएको सम्झौताबमोजिम बन्धकहरू रिहा हुने भएपछि नेपालका विपिन जोशी पनि मुक्त हुने उनको परिवारजनले आशा व्यक्त गरेका थिए । तर, अहिलेसम्म उनको अवस्था सार्वजनिक नगरीँदा परिवारजनक आँखा ओभाएका छैनन । 

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन्। उनी इजरायल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषि विज्ञानका विद्यार्थीलाई पठाइने ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरायल गएका थिए। 

उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो। 

अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए। जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए। तर, पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।