काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकास्थित तिलगाउँमा बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटरमाथि हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरी फर्किएको छ ।
अध्ययन टोलीले जोखिम टरिनसकेको प्रारम्भिक निष्कर्षसमेत निकालेको छ । यसअघि स्थानीयले गाउँमाथि दुईवटा हिमताल फेला पारेका थिए । तर, सरकारी टोलीले अर्को पनि हिमताल फेला पारेको छ । तीनमध्ये दुई वटा दबिएको अवस्थामा छ भने अर्को हिमतालको पानी सतहमै देख्न सकिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशीले हिमताल दबिएकै स्थानमा पुगेर अध्ययन गरेको हो ।
यसअघि नै हिमताल संरक्षणको क्षेत्रमा काम गरिरहेको इसिमोडले भूउपग्रहबाट गरेको अध्ययनले ताल दबिएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । तापक्रम बढ्दा ताल दबिएको हुनसक्ने इसिमोडको निष्कर्ष थियो ।
१ जेठका दिन हुम्लाको तापक्रम २२ डिग्रिसम्म पुगेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गत जेठ १ गते मध्यराति एक्कासी आएको बाढी-पहिरोका कारण तिलगाउँका १८ घरपरिवारका ३२ जना बिस्थापित भएका छन भने स्थानीय विद्यालय र जलविद्युत आयोजनामा क्षति पुर्याएको छ ।
सरकारले ढिलागरी राहत र उद्धारका सामग्री पठाएको भएपनि आवासको काम सुरू हुन सकेको छैन । सरकारी ढिलाइका कारण तिलगाउँबासी अब वर्षामा के गर्ने भन्ने अन्योलमा छन ।